परिचय:
बाख्रापालनको परिचय:
नेपालको कुल कृषि ग्राहस्थ उत्पादनमा करिब एक-तिहाई हिस्सा पशुपालन क्षेत्रले ओगटेको छ । पशुपालन व्यवसायमा बाख्रापालन एक अभिन्न अंगको रुपमा सबै भौगोलिक क्षेत्रका कृषकहरुले अपनाएको पाईन्छ । यस व्यवसायलाई निर्वाहमूखी अवस्थाबाट व्यवसायीकरण गर्दै उपलब्ध साधन र श्रोतको समुचित प्रयोगबाट उत्पादन एवं उत्पादकत्व वृद्धि गरी उत्पादन लागत कम गर्नु तथा बजार व्यवस्थापन गर्नु नेपालको अवस्थामा प्रमुख चुनौतीहरु हुन् ।
बाख्रापालन व्यवसायको प्रमुख उद्देश्य मासु उत्पादन गर्नु रहेतापनि उच्च हिमाली क्षेत्रमा सामान ढुवानीको निम्ति समेत बाख्राहरुको प्रयोग हुँदै आएको छ । यस बाहेक बाख्राको छाला, रौँ (पश्मिना) र हड्डीबाट निर्मित विभिन्न सरसामानहरुको उपयोग पनि भइरहेको छ ।
बाख्राको रौ (पश्मिना) मुख्यतः च्याङग्राको बहुमूल्य सामानको रुपमा निर्यात योग्य वस्तु रहेको छ । बाख्राको दुधको उपभोग प्रचलनमा नभएपनि बालकको निम्ति प्रभावकारी हुनुका साथै कमलपित्त र क्षयरोग जस्ता रोगको उपचार समेत प्रभावकारी मानिएको छ । शहरीकरणको वृद्धिको साथै पशुजन्य पदार्थको माग बढीरहेको अवस्थामा मागको अनुपातमा उत्पादन वृद्धि गर्नु जरुरी छ ।
विगतको तुलनामा हालका वर्षहरुमा खसी बाख्राको उत्पादनमा वृद्धि भएतापनि बढ्दो मागलाई पूर्ति गर्न छिमेकी राष्ट्रहरुबाट खसी बोका आयात हुने क्रम जारी छ । बाख्रापालन व्यवसायलाई एक सम्मानित व्यवसायको रुपमा विकास, विस्तार र व्यवसायीकरण गरी आयात प्रतिस्थापन गर्न सम्बन्धित सरोकारवालाहरुको यस तर्फ ध्यान जानु नितान्त आवश्यक छ ।
नेपालमा पछिल्लो समयमा आएर बाख्रापालन व्यवसाय अँगाल्ने मानिसहरुको संख्या निकै बढिरहेको देखिन्छ । एकातर्फ नयाँ नयाँ व्यवसायीहरुको यस क्षेत्रमा आकर्षण बढिरहेको छ भने अर्कोतर्फ उचित व्यवस्थापन मिलाएर पाल्न नसक्दा यस पेशावाट विस्थापित हुँदै जानेहरुको संख्या पनि उत्तिकै छ ।
त्यसैले व्यवसायिक रुपमा बाख्रापालन व्यवसायको शुरुवात गर्नुभन्दा पहिले यस सम्बन्धी ज्ञान हासिल गर्नु र व्यवहारिक रुपमा व्यवसायिक र नाफामूलक बाख्रापालन व्यवसाय गर्न के गर्नुपर्दोरहेछ भन्ने कुरा थाहा पाउनु नितान्त जरुरी हुन जान्छ ।
अतः यस कुरालाई आत्मसात गर्नु जरुरी छ कि नेपालको हकमा पशुपंक्षीपालनमध्ये बाख्रापालन एउटा यस्तो व्यवसाय हो जसको लागि आगामि कैयन् वर्षसम्म बजारको विल्कुलै अभाव हुने देखिँदैन ।
No comments:
Post a Comment